उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा भेट गरिन्।

भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयामहरू र भविष्यका सहकार्यबारे महत्वपूर्ण छलफल भयो।

उपराष्ट्रपति यादवले सन् १९४९ मा स्थापना भएको नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै भने, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन्।” उनले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वका मूल्यहरूको प्रशंसा गर्दै ती मूल्यहरूले नेपालको राजनीतिक आन्दोलनमा प्रेरणादायी भूमिका खेलेको बताए।

नेपालको पूर्वाधार विकासमा युरोपेली संघमार्फत फ्रान्सले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गर्दै उपराष्ट्रपतिले भविष्यमा पनि दुई देशबीचको सम्बन्ध जनताको हितमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रपतिले फ्रान्सको राष्ट्रिय दिवसको अवसरमा फ्रान्सेली राष्ट्रपति र जनताप्रति शुभकामना पनि व्यक्त गरे।

राजदूत कोर्टेभलले नेपाल–फ्रान्स सम्बन्ध भ्रातृत्व, साझेदारी र साझा मूल्यमा आधारित रहेको बताउँदै आफ्नो कार्यकालमा यो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाइन्।