गाई गौशाला र नगरपालिकाबिच विवाद, अवस्था तनावग्रस्त

बर्दिबास, साउन ८ गते । महोत्तरी जिल्लाको बर्दिबासस्थित ऐतिहासिक निगौल गाई गौशाला र बर्दिबास नगरपालिकाबिचको विवाद थप चर्कदै गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो ।

विसं. १९८३ सालमा तत्कालीन श्री ३ सरकार र भारतका दरभंगा महाराजको सत्प्रयासमा स्थापना भएको ऐतिहासिक धरोहर निगौल गाई गौशाला चौतर्फी आक्रमणका कारण चरम आर्थिक सङ्कटमा छ । गोठाहरुले पारिश्रमिक पाएका छैनन् भने गाईहरु भोको मर्ने अवस्थामा छन् ।

गाई गौशालाको नाममा रहेको वडा नं ५ स्थित दुई विघा १९ कट्ठा ११ धुर जग्गामा नगरपालिकाले चौपाया तथा माछामासु बजार सञ्चालन गर्दै आए पनि २०७० सालमा भएको सम्झौता बमोजिम बजार ठेक्काको २५ प्रतिशत रकम नबुझाउदा तनाव चर्कदै गएको हो ।

साउन ५ गते बजार ठेक्का उठाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएपछि स्थिति थप जटिल बन्दै गएको छ ।

घटनापछि नगरपालिकाले पत्रकार सम्मेलन गरी गाई गौशालामाथि नै घर कर, मालपोत तथा जग्गा करबापत तिर्नु पर्ने तीन करोड रुपियाँ बक्यौता रहेको दाबी गर्‍यो ।

लगत्तै गाई गौशालाले सर्वदलीय बैठक राखी बजार ठेक्काबापत ०७१ सालदेखि करिव पाँच करोड रुपियाँ बक्यौता नतिरेर नगरपालिकाले ज्यादती गरेको आरोप लगायो ।

सर्वदलीय छलफलमा सहभागी पूर्व गाविस अध्यक्ष देवनारायण महतोले नगरपालिकाले बजारको ठेक्का लिए पनि गाई गौशालालाई सम्झौताअनुसार रकम बुझाउनु पर्ने धारणा राख्दै विगतमा पनि यस्तो अभ्यास हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘जग्गाधनीको अधिकार मिचेर गरिएको व्यवहार ‘मत्यस्य न्याय’ हो ।’’

नगर उपप्रमुख रेणुकुमारी महतोले नगरप्रमुखले केन्द्र र जिल्लाको सहभागितामा उच्चस्तरीय सर्वदलीय छलफल गरी सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

‘‘जबरजस्ती र बल मिच्याईँले होइन, सहमतिको बाटोबाट निकास खोज्नुपर्छ’’ उहाँले भन्नुभयो । यसअघि भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्वर महतोले गौशाला बजारको उत्पति, अस्तित्व र उन्नयनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको निगौल गाई गौशालामाथिको बढ्दो उपेक्षा, हस्तक्षेप र थिचोमिचो दुःखदायी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाई गौशालाले आफ्नो सम्पत्तिमा हक खोज्दा कुटाइ खानु परेको अवस्था अराजक र गैरजिम्मेवार हर्कत हो । यो अवस्थाले यहाँका गाई र गोठाला कर्मचारी भोको मर्नु पर्ने अवस्था सृजना भएको छ ।’’

सर्वदलीय बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक बुद्धिनारायण श्रेष्ठ, नेपाली कांग्रेसका योगेन्द्र यादव, जनमत पार्टीका विक्रम साह, लोकतान्त्रिक समाजवादी पार्र्टीका उपेन्द्र साह र स्थानीय बुद्धिजीवीहरूले गाई गौशालाको पक्षमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाले बक्यौता रकम तुरुन्त बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । गाई गौशालाका प्रमुख वरिबहादुर चौधरीले ठेक्का रकम बुझाउन आग्रह गर्दा नगरपालिका झडपमा उत्रेको आरोप लगाउनुभयो

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।