नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

गोदावरी (कैलाली), ८ साउनः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले प्रदेश सरकारका साथै सामाजिक विकास मन्त्रालयलाई कानुनको प्रभावकारी कार्यान्वयनसँगै प्रदेशका सबै स्थानीय तहमा स्थानीय सरकारसँग समन्वय गर्दै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे स्थलगत अनुगमन गरेको समितिले सङ्घीय सरकारले बनाएका कानुन र प्रदेशको नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

समितिका सभापति धर्मराज पाठकले नीति र कानुन नबनेकाले समस्या भएको भन्दा बनेका कानुनको प्रभावकारी कार्यान्वयन नभएका कारण महिनावारी हुँदा महिला गोठमा बस्नुपरेको र त्यहाँ मृत्युसमेत हुने गरेको देखिएकोले समितिले कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभयो ।

सभापति पाठकले कानुनमा भएको दण्ड र जरिवाना विषयलाई प्रमुखताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य जस्ता विषयमा जोडेर छाउपडी कुरीतिबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो ।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गरेको विषयमा समितिले घटनास्थल अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

छलफलबाट प्राप्त सुझावका आधारमा समितिले सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती गिरी र कानुन अधिकृत दानबहादुर सुनार समितिको बैठकमा बोलाएर प्रदेश सरकारले छाउपडी प्रथाको कुरीति हटाउन गरेका हालसम्मका प्रयासबारे छलफल गरेको थियो ।

छलफलका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव रेग्मीले मन्त्रालयका तर्फबाट नीति कार्यान्वयनका लागि काम भइरहेको जानकारी दिनुभयो । उहाँले सामाजिक विकास समितिले दिएको निर्देशनअनुसार मन्त्रालयले थप काम गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।