काठमाण्डौः पहिल्यै सिरिज गुमाइसकेको पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई ७४ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ।
ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। जवाफमा बंगलादेश १६.४ ओभरमै १०४ रनमा समेटियो।
पाकिस्तानका लागि साहिबजाद फर्हानले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए। उनलाई साथ दिँदै हसन नवाजले १७ बलमा ३३ रन, सइम अयुबले २१, र मोहम्मद नवाजले २७ रन बनाए। कप्तान सलमान आगा १२ रनमा अविजित रहे।
बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए भने मोहम्मद नवाज र फहिम असरफले २–२ विकेट लिए। हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १–१ विकेट झारे।बंगलादेशका लागि मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए पनि अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल रहे।
यसअघि बंगलादेशले सिरिजको पहिलो दुई खेल जितेर ३ खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारिसकेको थियो।