लेखनाथ (कास्की), ९ साउनः गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन नियम बनाउने अधिकार नदिँदा सङ्घीयता जनतामाझ लोकप्रिय हुन समय लागेको बताउनुभएको छ ।
संसदीय पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको पदस्थापन कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै सभामुख धितालले सङ्घीयतालाई जनतामाझ प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका त्यतिकै महत्वपूर्ण रहने बताउनुभयो ।
जनताको घरदैलोमा पुगेर जनताको काम गर्ने सङ्घीय सरकारलाई बलियो बनाउँदै लैजानुपर्नेमा उहाँको जोड छ । संसद्को समाचार लेख्ने सञ्चारकर्मीले गण्डकी प्रदेशसभामा हुने गतिविधिसम्बन्धि निष्पक्ष रुपमा समाचार सम्प्रेषण गरी जनतामाझ पस्कन उहाँले आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले सञ्चारकर्मीको कलमले समाजलाई मात्र नभएर जनप्रतिनिधिलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । संसदीय पत्रकारहरुले प्रदेशसभाको समाचार लेख्दा कसैप्रति पूर्वाग्रही नरहेर सत्यतथ्य समाचार बाहिर ल्याउन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले पत्रकारिता अत्यन्तै संवेदनशील विषय भएकाले कसैका विषयमा समाचार लेख्दा सचेत हुन सुझाव दिनुभंयो ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका निर्वाचन समितिका संयोजक रमेश पौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो । दुई वर्षका लागि विशन क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय संसदीय पत्रकार मञ्च गण्डकी यसअघि निर्वाचित भएको थियो ।