नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले फेसवुकमा स्टाटस लेखेर प्रचण्डमाथि नै छानवीन गर्नुपर्ने हो कि भनेर खन्निएका छन् । संसदमा मच्चिएको ‘कुलिङ अफ पेरियड’को विवाद र बहसले उग्रता लिइरहेको छ ।
भट्टराईले प्रचण्डलाई सम्बोधन गर्दै फेसवुकको स्टाटसमा लेखेका छन्, ‘तपाईँले सङ्घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’
आफ्नो फेसबुक पोस्टमा भट्टराईले तीनवटा मुख्य बुँदामा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०८० फागुन ११ गते मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गरेको मूल विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था नै नरहेको तथ्य उजागर गरेका छन्। उनले प्रश्न गरेका छन्-‘यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’ उनले यो विषय सांसदहरूको संशोधन प्रस्तावपछि मात्रै बहसमा आएको हेक्का राख्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।
भट्टराईले प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको स्मरण गराएका छन्। उक्त समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन्। ‘समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि छानबिन त तपाईँमाथि नै गर्नुपर्ने हो कि ?’ भट्टराईले लेखेका छन्।