हेटौडा । बागमती प्रदेशसभा, कांग्रेस संसदीय दलमा नयाँ ट्विस्ट देखिन थालेको छ ।  संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि हिजो छलफल हुने भनिएको थियो । तर, लामाले उक्त बैठक अस्वीकार गरेपछि आज प्रस्तावमाथि छलफल अघि बढ्दै छ ।

लामाले बैठक एक दिन सारेपछि सांसदहरूको संख्यामा पनि ट्विस्ट आइरहेको छ । इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने गरी २१ जना सांसदले हस्ताक्षर गरेका थिए । त्यसमा एक जना सांसद माया श्रेष्ठ हस्ताक्षरपछि लामा पक्षमा लागेको चर्चा थियो । उनी बानियाँको टिमसँग सम्पर्कविहीन भएकी थिइन् । प्रस्तावमाथि छलफल गर्ने तयारी गरिरहेका बेलामा आजै मिना पराजुलीले पनि हस्ताक्षर फिर्ता लिने निर्णय लिइएकी छिन् ।

बानियाँको पक्षमा २१ सांसदबाट १९ जनामा झरेका छन् । अझै दुई जना सांसदको हस्ताक्षर फिर्ता गराउन सकिने लामा पक्षको बुझाइ रहेको देखिन्छ । उनीहरूले निकट नेताहरूसँग दुई जनाले फिर्ता लिने दाबी गरिरहेका छन् । त्यसो हुँदा बाँनियाँको पक्षमा १७ जना सांसदमा झर्ने छन् । त्यस्तो अवस्थामा भने लामाको पक्षमा बहुमत पुग्नेछ ।

अहिले नै १९ जना बानियाँको पक्षमा र १८ जना लामाको पक्षमा देखिएका छन् । बानियाँ पक्षका नेताहरूको भनाइमा चाहिँ हस्ताक्षर नगरे पनि ३ जना सांसद आफ्नो पक्षमा रहेका छन् । उनीहरूको दाबीमा नुवाकोटका सांसद रमेश महत र खानेपानीमन्त्री श्याम खड्काले पनि राजीनामा दिएर साथ दिने सम्भावना रहेको छ ।  खड्काले हिजो नै राजीनामा दिने चर्चा थियो । तर, खड्काले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

कतिपयले भने उनले मन्त्रीको ‘ग्यारेन्टी’ जताबाट आउँछ उतै लाग्ने तयारी गरेका छन् । बानियाँ पक्षलाई राजीनामा खल्तीमा रहेको बताइरहेका छन्, भने लामा पक्षलाई पनि आश्वस्त पारिरहेका छन् ।

त्यसैले, कांग्रेसको संसदीय दलको चुनाव रोचक मोडमा पुगेको हेटौंडामा चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।