
रानी, जमरा, कुलरिया जलविद्युत आयोजनाको समुद्घाटनमा परिकल्पनाकारको उपेक्षा….!!!
आज सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले कैलाली जिल्ला, जानकी गाउँपालिका- ९ अन्तर्गत पर्ने रानी जमरा कुलरिया सिंचाइ आयोजनाको नहरमा निर्मित सिंचाइ, ४.७१ मेगावाटको जलविद्युत र प्रसारण लाइनको समुद्घाटन गर्नुभयो । यो हामी सबै कैलाली बासीका लागि खुसी र गौरवको विषय हो ।
तर यहाँ स्मरणीय तथ्य के छ भने रानी जमरा कुलरिया सिंचाइ नहरमा निर्मित ४.७१ मेगावाट जलविद्युत आयोजनाका परिकल्पनाकार मेरा पूजनीय पिता सुरतबहादुर शाह हुनुहुन्छ । उहाँको अथक प्रयासबाट नै यो जलविद्युत आयोजनाको निर्माण सम्भव भएको हो । उहाँले यस बारेमा लेख लेख्नुका साथै यससम्बन्धी कागजातको फायल काखीमा च्यापेर महिनौं सिंहदरबारको चक्कर लगाएर यो आयोजना सरकारबाट स्वीकृत गराई बजेट विनियोजन गर्न लगाएको हिंजैजस्तो लाग्छ । म यस प्रक्रियाको प्रत्यक्ष साक्षी हुँ । साथै यसका अन्य साक्षीहरू जलविद्युत आयोजनाको रूपरेखा कोर्ने इन्जिनियरहरू र जलश्रोत मन्त्रालयका तत्कालीन मन्त्री र सचिवज्यूहरू हुनुहुन्छ ।
मैले यहाँ यो कुरा उप्काउनुको कारण के हो भने जानकी गाउँपालिका र आजको जलविद्युत आयोजना उद्घाटन समारोह आयोजक कमिटिले उद्घाटन स्थलबाट ३ किलोमिटर मात्र टाढा रहेका मेरा पितालाई कार्यक्रममा आमन्त्रण गरेर सम्मान गर्नु त परै जाओस्, त्यो समारोहमा बोलाउन पनि आवश्यक ठानेन । जुन व्यक्तिको परिकल्पना र प्रयासले यो आयोजना निर्माण भएर आज उद्घाटन हुन सम्भव भयो, तीनै व्यक्तित्व मेरा पिता सुरतबहादुर शाहको स्मरण गर्न पनि आवश्यक ठानिएन । हुन त मेरा पिता यसप्रकारका अपेक्षा र जसलिने प्रवृत्तिबाट धेरै टाढा हुनुहुन्छ तर यो आयोजनाको परिकल्पना र सरकारको अनुमोदनका लागि रातदिन नभनी आफ्नो कर्ममा निस्वार्थ मनले लाग्नुभएका मेरा पिताको योगदानको कदर नभएकोमा हामी दु:खी छौँ ।
यस्तै घटनाहरूले पटकपटक नेपाली मनलाई झस्काउने गर्छ, यो देश सतीले सरापेको देश हो । देशको भलो चिताउनेको कहिल्यै भलो नहुने !!
हेक्का रहोस् “आज तिमीले राष्ट्र विकासमा योगदान पुर्याउने कर्मशील अग्रजलाई सम्मान गर्न जरुरी ठानेनौ भने भोलिको पुस्ताले पनि तिम्रो सम्मान गर्न आवश्यक ठान्ने छैन ।”