सरकारको व्यापक आलोचना भईरहेको र मन्त्रीहरुले काम गर्न नसकिरहेको चर्चा चलिरहेका बेलामा केही मन्त्रीहरु हेरफेर गर्ने बारेमा छलफल गर्नका लागि सरकारको सबैभन्दा ठुलो दलका नेता शेरबहादुर प्रधानमन्त्रीसँग सल्लाह गर्न वालुवाटार पुगेका हुन् ।
नेपाली काङ्ग्रेसभित्र त्यसै पनि रडाको मच्चिरहेको छ । वागमती प्रदेश त्यसको प्रत्यक्ष प्रमाण बनिरहेको छ । नेपाली काङ्ग्रेसकै मन्त्रीहरुले राजिनामा दिएर मुख्यमन्त्रीका विरुद्ध फायर खोलेका बेलामा संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्र बानियाँ विजयी बनिसकेका अवस्थामा समेत मुख्यमन्त्री आफू राजिनामा नदिने बरु अन्य मन्त्री नियुक्ति गरेर चलाउने काम गर्दैछन् । यस परिस्थितिमा सङ्घीय सरकारमा मन्त्री बदल्दा अर्को रडाको सुरु हुनसक्छ भनेर नेपाली काङ्ग्रेसका तर्फबाट देउवा मन्त्रीहरु यथावत राख्ने सुरमा भएको कुरा स्रोत बताउँछ ।
यस्तो परिवेशमा एमालेका तर्फबाट भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पछिबाट मनोनयनमा परेका रघुजी पन्त तथा भगवती नेउपानेलाई छाडेर अन्य मन्त्रीहरुका स्थानमा नयाँ मन्त्रीहरु आजैबाट मनोनयन हुने सम्भावना सुनिएको छ ।