अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ।

नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।

कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ।

‘भिजिट भिसामा अब फिर्ता गर्ने (अफलोड) भन्ने हुँदैन। अब कागजात नक्कली छ भने त्यसलाई सिधै प्रहरी कहाँ पठाउने हो। त्यहाँबाटै छानबिन हुन्छ,’ तिवारीले भने।

आइतबार विभागले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो।

पछिल्लो समय भिजिट भिसामा जानेबाट अध्यागमनका अधिकृतहरूले असुली गर्ने गरेको भन्दै आलोचना भएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईमाथि छानबिनसमेत गरिरहेको छ।

यसबीचमा अध्यागमन सुधारका लागि विभिन्न प्रयास गरिरहेको महानिर्देशक तिवारीले बताए। उनले अब कसैले अध्यागमनलाई पैसा बुझाउन पर्छ भन्यो भने विश्वास नगर्न पनि आग्रह गरे।

‘अध्यागमनलाई बुझाउन पर्छ भनेर ठग्लान्, नपत्याउनुस्,’ उनले भने, ‘कागजात नक्कली बनाएर नआउनुस्, कोही, कसैलाई पनि फर्काउँदैनौं। नक्कली बनाएर आए प्रहरीलाई बुझाउँछौं। अध्यागमनको नाममा फन्दामा पर्नुहोला।’

अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले ‘फोर्जरी डिटेक्सन युनिट’ अर्थात नक्कली कागजात जाँच गर्ने निकाय नै रहेको पनि बताए।

‘फोर्जरी डिपार्टमेन्ट युनिट पनि छ, सामान्यत: कागजातहरू नक्कली हुन् भनेर हेरेपछि केही न केही बिग्रिएर थाहा पाइएकै हुन्छ। नभए कतिपयलाई केही बेरको अन्तर्वार्तामै पनि थाहा पाइन्छ,’ उनले भने, ‘एक महिना भयो अध्यागमनमा बसेको, कतिपयले भिजिट भिसामा श्रम गर्न जान लागेको भनेर आफैंले पनि स्वीकार्छन्।’

अध्यागमन विभागको नाम विवादमा मुछिनुको कारण नै शंकाको भरमा मानिसलाई फिर्ता पठाउने भएको बुझाइ छ।

यसकारण शंकाकै भरमा फिर्ता पठाउने कामलाई रोक्ने र केही कारणवश अनुसन्धान गर्नुपर्ने भएमा कुन कागजात के कति कारणले नक्कली हो भनेर प्रहरी कहाँ बुझाउनुपर्ने व्यवस्था गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।