भारतीय विदेश सचिवको आज एकै दिनमा प्रधानमन्त्री, राष्ट्रपति, मुख्यदलका नेतालगायतसँग भेटघाट

 

दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले आज एकै दिनमा प्रधानमन्त्री के पि ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादीकेन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणको निम्ता दिन नेपाल आएका मिस्रीले नेपालमा गरेका उच्चस्तरीय भेटवार्तामा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएका छन् ।

विदेश सचिव मिस्रीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् ।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

विदेश सचिव मिस्रीसँगको भेटपछि राष्ट्रपति  नेपाल र भारतबिच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक,  तथा जनस्तरको निकट सम्बन्ध रही आएको  र दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको छिमेक पहिलो नीतिको नेपाल सराहना गर्दछ’, राष्ट्रपति पौडेलले भने ।

साथै विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।