विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् ।
उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स-सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्।’
पार्टीभित्र उनको भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन्। ‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन,’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि। कमिटीमा बस्नेहरूलाई थाहा होला नि।’
आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन्। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन्।
‘गुट चलाएको’ आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्। ‘मलाई गुट चलाउन आउँदै आउँदैन,’ उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले ‘पार्टीका नेताहरूलाई सोध्न’ आग्रह गरिन्।
हालै कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनले बताइन्। ‘शेखर कोइरालासँग मेरो भेट भएको हो। अब उहाँ पनि मोरङ विराटनगरकै हो। हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो। त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ’, उनले भनिन् ।
साभार : रातोपाटी
