विवेक केशरी प्रसाई भदौ ३० गते,
बिर्तामोडको सडकले एउटा अनौठो दृश्य देख्यो । ट्राफिक प्रहरी हराएका थिए, तर ट्राफिक हराएको थिएन । जामको बोझले सडक कराउँदो थियो, सवारीसाधन चिच्याउँदो थियो, अनि बीचमा केही स्थानीय युवाहरू आफैं उभिए -हातमा डण्डा, मुखमा सिटी, र अनुहारमा जिम्मेवारीको गह्रौं बोझ ।
यो केवल ट्राफिक व्यवस्थापन थिएन । यो एउटा दर्शन थियो -राज्य अनुपस्थित हुँदा समाज आफैं उभिन्छ । समाजको स्वस्फूर्त चेतना सामान्यतया हामी राज्यलाई सर्वशक्तिमान ठान्छौं -उसैले सुरक्षा दिन्छ, उसैले व्यवस्था मिलाउँछ, उसैले कानून चलाउँछ । तर जब प्रहरी चौकी बन्द हुन्छ, सिटी बज्ने ठाउँमा मौनता बस्छ, अनि व्यवस्थाको धागो चुँडिन्छ -त्यतिबेला समाज आफैंको चेत जाग्छ ।
बिर्तामोडका युवाहरूले यही चेतलाई कार्यमा उतारे । तिनीहरूले के देखाए भने: “नागरिक केवल कर तिर्ने प्राणी होइन, नागरिक भनेको पनि व्यवस्था निर्माण गर्ने शक्ति हो ।” जिम्मेवारीको द्वन्द्व तर यहाँ एउटा दार्शनिक प्रश्न उब्जिन्छ – यो जिम्मेवारी कस्तो हो ? के यो राज्यको असफलता पूर्ति गर्न नागरिकले गरेका अस्थायी उपाय मात्र हुन् ? वा के यो एउटा नयाँ सामाजिक संरचना जन्माउने संकेत हो -जहाँ राज्य भन्दा समाज नै अगाडि हुन्छ ? यदि पहिलो हो भने, युवाहरूको योगदान प्रशंसनीय भए पनि अस्थायी राहत मात्र हो । तर यदि दोस्रो हो भने, यो एउटा क्रान्तिकारी क्षण हो -जहाँ हामी बुझ्छौं कि व्यवस्था बाहिरबाट थोपर्ने होइन, भित्रबाट उम्रने हो । शक्ति र मौनताको प्रश्न प्रहरी अझै कार्यक्षेत्र फर्किएको छैन । यो मौनता के हो ? राजनीतिक अस्थिरता ? अवज्ञा ? वा केवल राज्यको सुस्ताइ ?
तर सडकमा उभिएका युवाको मौनता भने अर्कै थियो -त्यो मौनता चिच्याउँदो थियो, भन्न खोज्दथ्यो: “हामीले पनि गर्न सक्छौं । हामी मात्र दर्शक होइनौं ।” निष्कर्ष : डण्डाभन्दा ठूलो दर्शन भदौ ३० को बिर्तामोडले देखाएको कुरा केवल ट्राफिक जामको कथा होइन । यो एउटा प्रतीक हो -जब राज्य असफल हुन्छ, समाजले आफैंलाई सम्हाल्छ । तर यो लामो समय टिक्न सक्दैन । नागरिक सेवकको डण्डा दर्शन त हुन सक्छ, तर स्थायी व्यवस्था होइन । स्थायित्व ल्याउने जिम्मेवारी भने अझै पनि राज्यकै हो ।
अन्ततः प्रश्न यहीमा आइरन्छ – राज्यले आफ्नो भूमिकामा फर्किन्छ कि, नागरिक नै स्थायी सेवक बन्नेछन् ? इतिहासले यही उत्तर खोजिरहेको छ ।