तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरुको चिन्ता

काठमाडौँ, ६ असार : तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले यस विषयमा गम्भीर हुन र सिँचाइका लागि वैकल्पिक व्यवस्था तथा किसानलाई राहतको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राख्नुभएको हो ।

सांसद मोहम्मद खालिदले विद्यमान सरकार गठबन्धन बन्दै गर्दा भएका राजनीतिक स्थायित्व, सुशासन समृद्धि र संविधान संशोधनजस्ता सहमति कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारको एक वर्ष बितिसक्दा पनि रोजगारी बढ्न नसकेको, कृषि उत्पादमा उल्लेख्य प्रगति नदेखिएको, सार्वजनिक ऋण बढ्दै गएको उहाँको भनाइ थियो ।

साउनको पहिलो सातासम्म पनि मधेशमा पानी नपरेको र सुख्खा हुँदा वर्खेबालीका लागि सिँचाइ तथा खानेपानीको चरम अभाव भएको विषय उहाँले संसदमा राख्नुभयो । चुरे दोहन, वालुवा–गिट्टीको अवैध उत्खनन्, जङ्गल फडानीजस्ता समस्याका कारण तराई क्षेत्रमा पानीको सतह घट्टै गएको सांसद खालिदले बताउनुभयो ।

अर्का सांसद तुलप्रसाद विश्वकर्माले तराई क्षेत्रमा वर्षा नहुँदा खडेरी परेको र जमिन मूनिको पानीको सतह घट्दै गएको विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले आर्थिक ऐनमार्फत् सुनचाँदीका गरगहनामा दुई प्रतिशतको विलासिता शूल्क लगाएकोमा व्यवसायी आन्दोलित भइरहेको विषय उहाँले संसद्मा उठाउनुभयो । सुदूरपश्चिम र कर्णाली क्षेत्रका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने कुप्रथा अझै अन्त्य हुन नसकेको विषय उहाँले सदनमा उठाउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरले जलवायु परिवर्तनका असर बढ्दै गएको बताउनुभयो । हाल खण्डवृष्टिका कारण तराई सुक्खाग्रस्त भएको र त्यसले वर्खेबालीको उत्पादन घट्ने देखिएको बताउनुभयो । पहाडी क्षेत्रमा बाँदर आतङ्क बढेको विषय उहाँले सुनाउनुभयो । सुक्खाग्रस्त क्षेत्रका किसान र जङ्गली जनावरबाट बालीनाली सखाप भएका किसानलाई सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सांसद गैरेले माग राख्नुभयो ।

अर्का सांसद उर्मिला अर्यालले बारा, पर्सालगायतका जिल्लामा खानेपानी र सिँचाइको सङ्कट देखिएको बताउनुभयो । मधेशका सबैजसो जिल्लामा जलसङ्कट देखिएको उहाँको भनाइ छ । जङ्गल विनाश बढ्दै गएका कारण त्यसको प्रभाव जलवायुमा देखिएको सांसद अर्यालले बताउनुभयो । सिँचाइ र खानेपानीका लागि शीघ्र वैकल्पिक व्यवस्था मिलाउन उहाँले संदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपाल भट्टराईले संविधान संशोधनको अन्तरवस्तुमाथि छलफल अघि बढ्न नसकेको बताउनुभयो । राजनीतिक स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गठबन्धन बनेको उल्लेख गर्नुहुँदै उहाँले संविधान संशोधन, सुशासन र समृद्धिका लागि थप प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार समाजलाई आशातर्फ डो¥याउन सफल भएको र मुलुकको अर्थतन्त्रका सूचक सुधार हुँदै गएको सांसद भट्टराईको दाबी छ । नागरिकका विकास आकांक्षा पूरा गर्न केही ढिलाइ भएपनि सरकार त्यसतर्फ जिम्मेवार भएर लागिरहेको भट्टराईले बताउनुभयो ।

आजको बैठकमा सांसद पदम बहादुर परियारले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै अहिलेका राजनीतिज्ञहरुले उहाँबाट प्रेरणा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।