काठमाण्डौः अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्स अझै लयमा देखिन्छन् । उनकै उत्कृष्ट प्रदर्शनका कारण वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्स क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले भारतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८८ रनले हरायो ।
इङ्ल्यान्डको बर्मिङ्घममा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका च्याम्पियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । वर्षाका कारण केही समय खेल बिथोलिएपछि भारतले १८.२ ओभरमा दुई सय रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
तर, जवाफी ब्याटिङमा ओर्लिएको भारत च्याम्पियन्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि कप्तान डे भिलियर्सले अविजित ६१ रनको योगदान गरे ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका डे भिलियर्सले केवल ३० बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । जोन ट्रेभर स्मट्सले पनि टोलीको खातामा ३० रन थपे । ज्याक्स रुडोल्फले २४ र हासिम अमलाले २२ रन बनाए ।
भारतीय टोलीका बलर युसुफ पठान र पियुष चावलाले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको भारतका लागि स्टुअर्ट बिनीले अविजित ३७ रन बनाए । सुरेश रैनाले १६ र विनय कुमारले १३ रन जोडे । दक्षिण अफ्रिकाका बलर एरोन फानगिसोले तीन तथा इमरान ताहिर र वेन पार्नेलले दुई–दुई विकेट हात पारे ।
दक्षिण अफ्रिका दुई खेलबाट चार अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । दोस्रो स्थानमा आसिन वेस्ट इन्डिजको दुई र तेस्रो स्थानमा आसिन पाकिस्तानको पनि दुई अंक छ । एक अंकसहित अस्ट्रेलिया चौथो र समान अंक जोडेको इङ्ल्यान्ड पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा आसिन भारतले भने अंक बटुल्न सकेको छैन ।