जनकपुर । आलोपालोको सहमतिविपरीत मधेस प्रदेश सरकार सञ्चालन भइरहेको भन्दै सत्तारुढ दलहरूबिच नेतृत्वका लागि हानथाप सुरु भएको छ । सत्ता साझेदार दुई ठुला दल कांग्रेस र एमालेबिच नेतृत्व गर्ने आकांक्षा बढेपछि सत्ता गठबन्धनमा कलह सुरु भएको हो ।
जनमत पार्टीले मधेस सरकारको नेतृत्व गरेको १४ महिना पुग्न लागेको छ । गत वर्ष जेठ २५ मा जनमत पार्टीका सतिस कुमार सिंहले प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।
केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमालेको गठबन्धनले नयाँ सरकार गठन गरेको थियो । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई त्यसवेला जनमत, लोसपासहित अन्य दलले पनि समर्थन जनाएका थिए ।
केन्द्रमा भएको उक्त गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार फेरबदल भयो । कांग्रेस–एमाले गठबन्धनमा जनमत र लोसपालाई समेत समेटेर मधेसमा चार दल सम्मिलित सरकार गठन भयो ।
त्यसबखत मधेस सरकारको नेतृत्व आलोपालो लिने सहमति भएको भन्दै अहिले सत्तारुढ दलहरूबिच नेतृत्वका लागि हानथाप भएको छ । गठबन्धन दलहरूबिच नै नेतृत्वको विषयमा हानथाप सुरु भएपछि मधेसको सत्ता गठबन्धनको भविष्यमाथि गम्भीर प्रश्न उठिरहेको छ ।
यद्यपि, वर्तमान सरकार भन्ने ढल्ने अवस्थामा नपुगेको सत्ता गठबन्धन दलहरू बताउँछन् ।
केन्द्रीय सहमति अनुसार गठबन्धन रहे पनि सरकारको नेतृत्व फरक दलले पाउनु पर्ने भन्दै कांग्रेससहितका दलहरूले लबिङ सुरु गरेका छन् ।
कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले मधेसको नेतृत्व लिन केन्द्रका शीर्षस्थ नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिएका छन् । जनमत पार्टीले सरकारको नेतृत्व गर्ने पालो सकिएको भन्दै उनले प्रदेश सरकार फेरबदलको माग गरिरहेका छन् ।
रातोपाटीसँग प्रतिक्रिया दिँदै कांग्रेस नेता यादवले भने, ‘केन्द्रमा मधेस प्रदेशको नेतृत्व एक वर्षमा फेर्ने सहमति भएको थियो । त्यसबमोजिम नै पहिलो नेतृत्व जनमतलाई दिइएको हो । अब पालो कांग्रेसको हो, त्यसकारण कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्छ ।’
उनले चारै दल सत्ता गठबन्धनमा रहेको भन्दै गठबन्धनमा विवाद नरहेको बताए । ‘तर त्यसबखत आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकै हो, त्यो पालना हुनुपर्छ,’ उनले भने ।
गठबन्धन तलमाथि नगरीकन सरकारको नेतृत्वमात्र फेरिने यादवको तर्क छ । ‘जो आए पनि यही गठबन्धनबाट अर्को नेतृत्व आउने हो, यो गठबन्धन बलियो छ,’ उनले भने ।
यता एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिकमन्त्री सरोज यादवले पनि सरकार गठन हुँदाको बखत नेतृत्व आलोपालो गर्ने समझदारी भएको बताए ।
उनका अनुसार यो विषयलाई छलफल गरेर टुङ्ग्याउनु पर्छ । यद्यपि यही कारणले सरकार अस्थिर नबनेको उनको टिप्पणी छ ।
मन्त्री यादवले भने, ‘सरकार फेरबदलको सवालमा केन्द्रीय गठबन्धनबाट केही निर्णय आएको छैन । हाम्रो पार्टीबाट पनि केही निर्देशन आएको छैन ।’
सरकारको नेतृत्व फेर्ने सवालमा छलफल नहुन्जेलसम्म यही नेतृत्वको सरकार निरन्तर रहने उनको भनाइ छ । अहिले सरकारमा खासै समस्या नरहेको उनले बताए ।
जनमत पार्टीले भने सरकार नेतृत्व फेरबदलको चर्चा अनावश्यक भएको टिप्पणी गरेको छ । सरकारको नेतृत्व गरिरहेका मधेसका मुख्यमन्त्री सिंहले नेतृत्वमा आलोपालो सम्झौता काहीँ पनि नभएको दाबी गरे ।
उनले भने, ‘मधेसमा कसैको बहुमत छैन, त्यसकारण यो गठबन्धनको सरकार हो । तर शीर्षस्थ नेतृत्वले फेरबदल गर्न आदेश दियो भने त्यो स्वतः हुन्छ । त्यसमा कुनै विमति छैन ।’
तर आलोपालो नेतृत्व गर्ने कुनै सम्झौता नभएको मुख्यमन्त्री सिंहले बताए । केन्द्रीय निर्णय नआउन्जेलसम्म आफ्नो नेतृत्वको सरकार रहिरहने उनले प्रस्ट पारे ।