११ साउन, काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

विद्युत लोड व्यवस्थापनमा आएको समस्या बुधबारसम्म हल हुने जनाएको छ विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।