रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी आएको छ। बुधबार बिहान २ः१४ बजे भोटेकोशीको सतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन।
उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित तुल्याइको छ। त्यहाँको बाटो कटान नै गरेको उनले बताए।

‘भेलबाढीका कारण मानवीय क्षति भएको छैन। बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्यौं। नदीको सतह घटेको छैन। स्थानीयहरू अहिले पनि घरबाहिरै हुनुहुन्छ,’ उनले भने।
उनले बाढीले त्रिशूली जलविद्युत आयोजनामा पनि व्यापक क्षति पुर्याएको छ। क्षतिको विवरण भने आइसकेको छैन।
भोटेकोशीको भेलबाढी बिहान ०३ः५५ बजे नुवाकोट विदुर नगरपालिका आइपुगेको थियो। अहिले धादिङतर्फ बढिरहेकाले त्रिशूली नदी आसपासमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

भेलबाढीले त्रिशूली थ्रि बि आयोजनामा व्यापक क्षति पुर्याएको रसुवा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले जानकारी दिए। उक्त बाढीले उत्तरगया क्षेत्र डुबानमा पारेको छ। नदीको सतह अहिले पनि घटेको छैन।
