लिङ्देनलाई गल्ती सच्याउन सुझाए धवल शमशेरले

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै पछिल्ला गतिविधिमा गल्ती भएकोले सच्याउन आग्रह गरेका छन्।

महामन्त्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा विधान मिचेर स्वेच्छाचारी ढंगले अध्यक्ष अघि बढेको उल्लेख छ।

‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दु:खद र निन्दनीय छ। पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ,’ महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा उल्लेख छ।

अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।

यी निर्णय गर्दा विधानविपरीत गरिएको र स्पष्टीकरणको मौकासमेत नदिइएको महामन्त्री राणाको भनाइ छ।

साथै जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरे पनि अध्यक्ष लिङ्देनले हालै आफूखुसी पर्यवेक्षक तोकेको उनको आरोप छ।

साथै उनले अध्यक्ष लिङ्देनका स्वकीय सचिवले पार्टीकै नेतामाथि कुटपिट गरेको विषय निन्दनीय भनेका छन्।

‘पार्टीको तर्फबाट प्रदेससभा उम्मेदवार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दु:खद र निन्दनीय छ। पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन्,’ महामन्त्री राणाले भनेका छन्।

उनले तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन पनि माग गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।