विवेक केशरी प्रसाई
प्रिय सन्तान, प्रिय भावी पुस्ता,
आज म ५३ वर्ष पुगेको छु । उमेरले आधा शताब्दी नाघिसक्यो, तर मनमा अझै अनगिन्ती प्रश्नहरू बाकि छन् । यही प्रश्न र अनुभवहरू तिमीलाई बाँड्न चाहन्छु, ताकि हाम्रो पुस्ताले भोगेका गल्ती तिमीले दोहोर्याउन नपरोस् । म जन्मँदा नेपाल पञ्चायती शासनको कठोरतालाई भोगिरहेको थियो । सानै उमेरमा मैले देखेको पहिलो राजनीतिक शब्द थियो “लोकतन्त्र”। तर त्यो केवल नारा थियो, वास्तविकता होइन । जवान हुँदै गर्दा युद्ध सुरु भयो ।
२०५२ देखि १० वर्षसम्म चलेको द्वन्द्वले हामीलाई कोठाभित्रै थुनियो । बिहान स्कुल वा कलेज जाने, बेलुकी फर्किने कुरा सधैं डरको छायामुनि हुन्थ्यो । बन्द, नाकाबन्दी, गोली, धम्की -यी शब्दहरू हाम्रो दैनिक जीवनको हिस्सा बने । तर त्यसपछिको जनआन्दोलनमा हामी फेरि सडकमा उत्र्यौँ । हामीलाई लाग्यो -अब नयाँ नेपाल बन्छ । तर फेरि पनि नेताहरूको सौदाबाजीमा हाम्रो रगत बेचियो । २०७२ सालमा भूकम्प आयो । त्यो दिन मैले देखेको दृश्य अझै आँखामै घुम्छ । घरहरू भत्किए, मान्छेहरू सडकमा चिच्याए, आफ्नै छिमेकी बेपत्ता भए । त्यसपछि नाकाबन्दी आयो -पेट्रोल, खाना, औषधि सबै गायब । भर्खरै फेरि कोरोना आयो । लकडाउनमा गाउँ-शहर सबै बन्द भए । हामी हाम्रो जीवनभन्दा ठूलो पिँजडाभित्र कैद भयौँ । पढाइ बिग्रियो, रोजगारी हरायो, व्यवसाय ढल्यो । तर यो सबै पर्याप्त नभएझैँ, अहिले फेरि सडकमा रगत बगिरहेको छ । भ्रष्टाचारविरुद्ध नारा लगाउने युवाहरूलाई गोली हानिएको छ । अस्पतालमा घाइतेहरूको चिच्याहट सुन्दा, आफ्नै शरीरभित्र रगत जमेको जस्तो लाग्छ । प्रिय सन्तान, म ५३ वर्षमा आइपुग्दा थाकिसकेको छु । तर तिमीलाई एउटा सन्देश भने दिनैपर्छ । हामी धेरै पटक नेताको वाचा सुनेर झुक्कियौँ ।
धर्म-जातको नाममा फुटाएर हामीलाई खेले, हामी फेरि झुक्कियौँ । लोभको चस्माले आँखामाथि पर्दा फेरि झुक्कियौँ । तर अब तिमीहरूले त्यो भूल दोहोर्याउनु हुँदैन । “न झुक, न झुक्क ।” सत्ता अगाडि नझुक, प्रलोभन अगाडि नझुक्क । तिमीहरूको पुस्ता अझै शुद्ध छ, अझै बलियो छ । देशलाई हरेक संकटले थिचे पनि, भविष्य तिमीहरूको काँधमै छ । मलाई थाहा छ -संसारको जुनसुकै कुनामा गएर पनि बाँच्न सकिन्छ । तर आफ्नै देश, आफ्नै भाषा, आफ्नै परिवारसँगै बसेर केही गर्न सकिन्छ भने त्यसको अर्थ बेग्लै हुन्छ । ५३ वर्ष पुग्दा थाकेको शरीरले भन्छ -अबको लडाइँ मेरो भन्दा बढी तिमीहरूको हो । तर मेरो अनुभव र पीडा तिमीलाई एउटा ढाल होस् । यदि तिमीले हाम्रो गल्ती नदोहोर्यायौ भने, तिमीलाई अर्को पुस्ताले “देश खुवाउने पुस्ता” भनेर होइन, “देश जोगाउने पुस्ता” भनेर सम्झनेछन् । त्यसैले, यो चिट्ठी पढ्ने जो-जो छौ -देशलाई हरेक पीडा पार गरेर अघि बढाउन तयार होऊ । सपना देख, संघर्ष गर, तर झुक्किने वा झुक्क्याउने कहिल्यै नगर ।
तिम्रो लागि, ५३ वर्ष पुगेको एउटा साधारण नेपालीको आत्मस्वरूप