जन्म दिन पारेर अध्यक्षबाट मुद्रण उद्योग संघ झापाको अक्षयकोषमा रकम हस्तान्तरण

बिर्तामोड । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी संघको सदस्य राहत अक्षयकोषमा २५,१०५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। बिर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममा उहाँले उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

“जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आज चिया मात्र पिएर कोषमा रकम थप गर्न पाउँदा खुसी छु,” अध्यक्ष भट्टराईले भन्नुभयो, “सदस्यहरूको दुःखमा समवेदना पत्र मात्र बोकेर पुग्दा मन खिन्न हुन्थ्यो। अब यो कोषमार्फत थोरै भए पनि आर्थिक सहयोग गर्न सकिनेछ।” उहाँले कोष वृद्धिका लागि सबै सदस्य तथा व्यवसायीलाई एकजुट हुन आह्वान समेत गर्नुभयो।

अध्यक्ष भट्टराईको आह्वानसँगै कार्यक्रममा उपस्थित अन्य सदस्यहरूले पनि कोषका लागि रकम सहयोग गर्ने घोषणा गरेका छन्। संघका सदस्य भीष्मराज राजवंशीले तत्काल ५,००५ रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो भने विनोद दाहालले १५,०००, अर्जुन थापाले ११,१००, र पुण्यप्रसाद खतिवडाले ५,१०० रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा अक्षयकोष कार्यविधि निर्माण समितिका संयोजक टंक निरौलाले कोषमार्फत सदस्यहरूलाई शोक, दैवी प्रकोप, दुर्घटना जस्ता अवस्थामा सहयोग गर्ने, क्षमता विकासका तालिम सञ्चालन गर्ने तथा ज्येष्ठ मुद्रणकर्मीलाई सम्मान गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो।

नेपाल मुद्रण उद्योग संघका केन्द्रीय सदस्य गोविन्द निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव भानु खनालले गर्नुभएको थियो।