झापा, मोरङको रतुवामाई नगरपालिका–६ मा भएको पारिवारिक हत्या प्रकरणले गम्भीर मोड लिएको छ। अंशबन्डा सम्बन्धी पुरानो झगडाकै कारण एक व्यक्तिले आफ्नै भाउजूमाथि ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्याको आरोपमा उनका देवर ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
असार २१ गते बिहान टीकामाया आफ्नै बारीमा टाउकोमा गहिरो चोट लागेर लडिरहेको अवस्थामा भेटिएकी थिइन्। सुरुमा घटना शंकास्पद देखिए पनि, इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अनुसन्धान अघि बढाएपछि घटनाको पछाडि गहिरो पारिवारिक मनमुटाव रहेको तथ्य बाहिर आयो।
प्रहरीका अनुसार टीकामायाका श्रीमान् गणेशबहादुर बस्नेत र टंकबहादुरबीच अंशबन्डा सम्बन्धी पुरानो विवाद रहँदै आएको थियो। यही रिसइबीका कारण टंकबहादुरले बोल्न नसक्ने (इशारामार्फत मात्र कुरा गर्ने) आफ्नी भाउजूमाथि हँसिया प्रयोग गरी आक्रमण गरेका रहेछन्।
घटनाको दुई दिनपछि टंकबहादुरलाई प्रहरीले घरमैबाट नियन्त्रणमा लिएको थियो। साथै, हत्यामा प्रयोग गरिएको हँसिया पनि बरामद गरिएको जनाइएको छ।
प्रहरीका अनुसार टंकबहादुर बस्नेतमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान जारी छ।