मानवशास्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा फेरिँदो सामाजिक अवस्थाबारे छलफल

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विश्वको फेरिँदो समाज र संस्कृतिको विषयमा छलफल भएको छ ।

ललितपुरमा हिजो र अस्ति भएको छलफलमा नेपालसहित विश्वका विभिन्न १५ देशका मानव जीवनसँग सम्बन्धित ९५ विषयमा कार्यपत्र प्रस्तुत भएको छ । मानव जीवन र यसलाई प्रभाव पारेका जलवायु परिवर्तन, कृषि, धर्मसंस्कृति, परम्परागत ज्ञान सीप, सामाजिक साँस्कृतिक अवस्था, सामाजिक संरचना, विभेद, लैङ्गिक पहिचानलगायतका विषयमा प्रस्तुत भएका कार्यपत्रमध्ये उत्कृष्ट कार्यपत्र जर्नलमा प्रकाशित हुने मानवशास्त्री डा.सुरेश ढकालले उज्यालोलाई जानकारी दिनुभएको छ ।

सम्मेलनमा नेपालसहित भारत, चीन, क्यानडा, अमेरिका, बेलायत, जापान, बङ्गलादेश, इटली, फ्रान्सलगायत देशका मानवशास्त्रीहरुले आ–आफ्ना क्षेत्रका स्थानीय समुदायमा आएको परिवर्तनबारे कार्यपत्र प्रस्तुत गरेका हुन् ।

जलवायु परिवर्तनले आदिवासी समुदायको संस्कृति, ज्ञान सीप, जडिबुटीको प्रयोग तथा खानेपानीमा समेत सङ्कट ल्याएको विषयमा पनि कार्यपत्र प्रस्तुत भएको थियो । यस विषयमा विद्यार्थी र प्राध्यापकबीच गहन छलफल भएको छ ।

विशेषगरी मानव जीवनको अध्ययन हरेक विषयमा काम लाग्ने भएकाले मानवशास्त्रबारेको अध्ययनले व्यापकता पाएको र समय अनुसार पाठयक्रममा परिमार्जन पनि हुँदै गएको विभागका प्रमुख प्रा.डा.विनोद पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्याार्थीले यो सम्मेलनलाई ज्ञान हासिलको लागि महत्त्वपूर्ण अवसरका रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।