ललितपुर, श्रावण ५ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान (IOE) का पाँच आङ्गिक क्याम्पसमा पठनपाठन, प्रयोगशाला र शैक्षिक गतिविधिहरू ठप्प भएको आज १३ दिन पुगेको छ। विकेन्द्रीकरण र स्वायत्तताको पुनः कार्यान्वयनको माग गर्दै शिक्षक तथा विद्यार्थीहरू संयुक्त आन्दोलनमा उत्रिएका छन्।
विक्रम संवत २०८० साउन १ गते त्रिविको सिनेट बैठकले IOE मा वर्षौंदेखि लागू हुँदै आएको विकेन्द्रीकरण प्रणाली स्थगन गर्ने निर्णय गरेपछि आन्दोलन चर्किएको हो। उक्त निर्णयको विरोधमा पुलचोक, थापाथली, पश्चिमाञ्चल, पूर्वाञ्चल र चितवन इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी तथा शिक्षकहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
प्राध्यापक सङ्घ पुलचोक क्याम्पसका कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठका अनुसार विकेन्द्रीकरण स्थगनको निर्णयले शैक्षिक गुणस्तर, संस्थाको प्रतिष्ठा र प्रशासनिक कार्यक्षमता गम्भीर रूपमा प्रभावित भएको छ। “हामीको माग ठूलो होइन,” श्रेष्ठले भन्नुभयो, “२०५५ सालदेखि लागू भएको स्वायत्तता पुनः कार्यान्वयन भएमा पठनपाठन तुरुन्त सुरु हुन्छ।”
स्ववियु पुलचोक क्याम्पसका कोषाध्यक्ष अल्वर्ट ढकालले स्वायत्तता र विकेन्द्रीकरण हटाइँदा परीक्षा प्रणाली, नतिजा प्रकाशन र सम्पूर्ण शैक्षिक चक्रमा अवरोध हुने बताउनुभयो। उहाँले चेतावनी दिँदै भन्नुभयो, “स्वायत्तता खोसिएपछि यी क्याम्पसहरू अन्य साधारण आङ्गिक क्याम्पसजस्तै कमजोर बन्ने खतरा छ।”
सिनेट बैठकको निर्णयमा आयोग गठन गरी स्वायत्तता पुनः लागू गर्न सकिने उल्लेख भए पनि हालसम्म कुनै समिति गठन नभएको आन्दोलनकारीहरूको आरोप छ। पुलचोक क्याम्पसका सहप्राध्यापक अजयकुमार झाले भन्नुभयो, “दुई वर्षसम्म आयोग नै नबनाएर क्याम्पसहरूलाई अस्तव्यस्त बनाइएको छ। अब आन्दोलनबाटै समाधान खोजिन्छ।”
विद्यार्थी तथा शिक्षकहरूले असार १९ गतेदेखि ध्यानाकर्षण कार्यक्रम, प्लेकार्ड प्रदर्शन र सांकेतिक विरोध गर्दै आएका थिए। तर माग बेवास्ता भएपछि असार २५ गतेदेखि सम्पूर्ण कक्षा, प्रयोगशाला र परीक्षा बहिष्कार गरी आन्दोलनलाई तीव्र बनाइएको हो।
देशभर इञ्जिनियरिङ अध्ययन संस्थानका क्याम्पसहरूमा जारी आन्दोलनका कारण करिब १० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।
