झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–४, मनकामना टोलमा सोमबार राति जंगली हात्तीले एउटा घर भत्काउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, स्थानीय सुवर्णकुमार खड्काको भान्सा घरमा हात्ती पसेको थियो। राति करिब ३ बजे भएको उक्त आक्रमणमा हात्तीले घर भत्काउनुका साथै भित्र राखिएका खाद्यान्न र अन्य सरसामानहरू नष्ट गरिदिएको छ।
मंगलबार बिहान ६:४५ बजे बाहुनडाँगी प्रहरी चौकीमा खबर आएपछि प्रहरीको टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको थियो।