लम्पी स्किन रोगको तथ्यांकमाथी संका, बिर्तामोड नगरका कर्मचारीको फलोअप खोइ

झापा जिल्लामा लम्पी स्किन रोगका कारण किसानहरू निकै समस्यामा परेका छन्। दुई वर्षअघि महामारीको रुप लिएको यो रोग फेरि यस वर्ष पनि देखिन थालेको छ, र धेरै किसानलाई ठूलो क्षति पुर्‍याएको छ। तर अझै पनि कति गाईबस्तु बिरामी भए र कति मरे भन्ने ठोस तथ्याङ्क सम्बन्धित निकायसँग छैन।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार अहिले सम्म झापामा १० हजार ६१ वटा गाईबस्तुमा लम्पीको संक्रमण देखिएको छ भने १४२ वटा गाईगोरु मरेका छन्। यी तथ्याङ्कहरू स्थानीय पालिकाबाट संकलन गरिएको कार्यालय प्रमुख शितल भट्टराइले जानकारी दिइन्।

तर, अर्कोतर्फ पालिकासँग भने यस्ता तथ्याङ्क नै नभएको देखिएको छ। स्थानीय वडाका जनप्रतिनिधिहरूलाई यसबारेमा जानकारी छैन र पालिकाका कर्मचारी उपचार गर्न आए पनि पछि फलोअप नगर्दा मृत्युको तथ्याङ्क पुष्टि गर्न कठिन भएको किसानहरू बताउँछन्।

किसानहरू भन्छन्, “चुनावमा भोट माग्न खेतमै आइपुग्ने नेताहरू जितेपछि भने हाम्रो दुखमा कुनै चासो देखाउँदैनन्।” कतिपय किसानले नगरपालिकाका पशु प्राविधिक बोलाएर उपचार गरे पनि पछि उनीहरू आएर हेर्दैनन् भनेर गुनासो पोखेका छन्। रिपोर्टिङ पनि सुनेको भरमा गरिन्छ, त्यसैको आधारमा अस्पतालले तथ्याङ्क बनाउँछ।

बिर्तामोडको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले भने, “हामीले गर्ने रिपोर्टिङ यथार्थ नजिकै हुन्छ, तर प्रमाणित आधार भने कमै हुन्छ।” उनले प्राविधिकहरूले उपचार गरेका पशुहरूलाई आधार मानेर तथ्याङ्क बनाइने र मरेका पशुको विवरण भने जानकारी दिइए मात्र थाहा हुने बताए।

यता भेटेरिनरी प्राविधिक टंक पौडेलले भने नगरपालिकाले निजी प्राविधिकसँग कुनै तथ्याङ्क माग्दै आएको छैन भनेका छन्। उता अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले भने, “हामी फलोअप पनि जान्छौं, तथ्याङ्क संकलन पनि सजिलो छ” भनेर दाबी गरे।