झापामा जारी ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज तेस्रो दिन अटो चालकहरूलाई लक्षित गर्दै विशेष प्रशिक्षण कार्यक्रम र सवारी चेकजाँच सम्पन्न गरिएको छ। कार्यक्रम बिर्तामोड–३ मा रहेको पूर्वेली अटो रिकन्डिसन हाउसको सभाहलमा आयोजना गरिएको हो।
झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राविधिक टोलीले अटोको प्राविधिक परीक्षण गर्नुका साथै चालकहरूलाई सुरक्षित सवारी सञ्चालनसम्बन्धी महत्वपूर्ण जानकारी दिएको थियो। कार्यक्रम पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बास्कोटाले गर्नुभयो भने प्रमुख प्रशिक्षकको भूमिकामा ट्राफिक कार्यालय झापाका प्रमुख गणेश प्रसाद पौडेल रहनुभएको थियो।
कार्यक्रममा सहि राजकुमार बस्नेत, पूर्व अध्यक्ष धनशिंग राजबंशी, बिर्ताबजार ट्राफिक पोस्टका इञ्चार्ज, स्थानीय अटो चालक र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य सचिव गणेश कोइरालाले दिनुभयो भने सञ्चालन सल्लाहकार नवीन किशोर बिमलीले गर्नुभएको थियो। व्यवसायी दिनेश अधिकारी पनि सहभागी हुनुहुन्थ्यो।
यसअघि असार ६ गते ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रम बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरीसहित सुरु गरिएको थियो। प्रभातफेरी सिटी सेन्टरको साई पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो, जहाँ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षता तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो।